
झापा । युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।
बीबीसीका अनुसार युक्रेनको किएभ शहरका विभिन्न ठाउँहरूमा आगलागी भइरहेको छ । युक्रेनी सेनाले ब्यालिस्टिक मिसाइल आक्रमणको सम्भावनाको चेतावनी पनि दिएको छ ।
यसअघि मङ्गलवार राति युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण भएको युक्रेनी सेनाले बताएको थियो । त्यस क्रममा सात सय २८ ड्रोन र १३ क्रुज वा ब्यालिस्टिक मिसाइलले विभिन्न शहरहरूलाई निशाना बनाएका थिए ।
किएभको सैन्य प्रशासनका प्रमुख टिमुर त्काचेनकोले आज बिहान राति किएभका ६ वटा जिल्लामा रुसी ड्रोनले आक्रमण गरेको र आवासीय भवन, गाडी, गोदाम, कार्यालय र अन्य संरचनाहरूमा आगलागी भएको बताउनुभएको छ ।
स्थानीयवासीलाई हवाई साइरन सकिएसम्म सुरक्षित ठाउँमा बस्न र अत्यधिक धूलोका कारण घर फर्किएपछि झ्यालहरू बन्द गर्न अनुरोध गरिएको छ ।
युक्रेनी वायु सेनाले देशका अन्य क्षेत्रहरूमा पनि रुसी ड्रोन आक्रमणको खतरा रहेको जानकारी दिएको छ ।