
काठमाडौं । यस वर्ष असारको तेस्रो हप्तासम्म देशभरको रोपाइँ ४५ प्रतिशत नाघेको छ । कृषि विभागका अनुसार अस्ति सोमवारसम्म देशभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ । यो गएको वर्ष यही अवधिको तुलनमा एक दशमलव ५३ प्रतिशतले धेरै हो ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यस वर्ष मनसुन अलि छिटो भित्रिएपछि गएको वर्षको तुलनामा असार तेस्रो हप्तासम्म धान रोपाइँ केही धेरै भएको बताउनुभयो । मधेश प्रदेशमा रोपाइँ अहिले पनि अपेक्षाकृत हुन सकेको छैन । तर अरू प्रदेशमा रोपाइँ राम्रै भएको छ ।
कृषि विभागका अनुसार देशभर १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमध्ये सोमवारसम्म ६ लाख २३ हजार हेक्टरमा रोपाइँ भइसकेको छ । तथ्याङ्क अनुसार पोहोर अहिलेसम्मकै उच्च ५९ लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
कृषि मन्त्रालयका अनुसार देशभर झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका ठाउँमा औसतभन्दा कम र धनगढी सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाण्डौमा औसतभन्दा धेरै वर्षा भएको छ ।
यस वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि गएको जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो ।
जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अवधिमा मधेश प्रदेशका दक्षिणी भागमा सरदरभन्दा कम, कोशी प्रदेशका दक्षिणी भागमा सरदर र देशका बाँकी भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ ।