
काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध जटिल रोगका बिरामीले अब पहिलेभन्दा दोब्बर अर्थात् दुई लाख रुपैयाँ बराबरको उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ ।
मन्त्री पौडेलले आठ वटा जटिल रोगका बिरामीले अहिले पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख रुपैयाँ सुविधा प्राप्त गर्न सक्ने जानकारी दिनुभएको छ ।
कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकलाई आउँदो साउन १ गतेदेखि बीमा कार्यक्रममार्फत दुई लाख रुपैयाँको उपचार प्राप्त गर्ने व्यवस्था गरेको मन्त्री पौडेलले आज बिहान आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गर्नुभएको थियो । त्यसअनुसार मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको थियो ।
बोर्ड बैठकले आठ जटिल रोगीलाई दुई लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिनुभयो ।
मन्त्री पौडेलले स्वास्थ्य बीमाबाट उपचार सहायता वृद्धिसँगै स्वास्थ्य बीमा कोषको आयश्रोत बढाउने नीतिगत निर्णय पनि गर्नुभएको छ ।
पछिल्लो नीति तथा कार्यक्रममार्फत सबै सरकारी तथा सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने उल्लेख छ । साथै नयाँ बजेटमार्फत बीमा बोर्डको बक्यौता शून्यमा झार्ने घोषणा सरकारले गरिसकेको छ ।