२०८२ असार २५, बुधवार , ११:५१:५१ बजे

Sajhamanch
'

पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध : नवलपरासीको दाउन्नेमा पनि समस्या

बुधवार, असार २५, २०८२

काठमाडौं । पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड आज बिहानैदेखि अवरुद्ध छ ।

यो सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध छ । वर्षाका कारणले पहिरो गएर कान्ति लोकपथ आज बिहानदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गएरातिको पानीले कान्तिलोकपथको ठिंगन–वगुवा सडक खण्डमा पर्ने गंगटेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

रसुवाको धुन्चे–स्याफ्रुबेसी सडकखण्ड पहिरोले अवरुद्ध छ । ठूलो भार्खुमा पहिरो झरेपछि धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको हो । प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ ।

हिजो बिहान तिब्बत हुँदै बग्ने भोटेकोशी नदीको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध नै छ ।

यस्तै पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण हिजो बेलुका पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

केही ठाउँमा सडक भासिएकोले खुलाउन समय लाग्ने सूचना अधिकारी पाण्डेले बतानुभएको छ । अवरुद्ध भएका क्षेत्रमा सडक खुलाउन पहल भइरहेको सम्बन्धित क्षेत्रमा खटिएका प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर