२०८२ असार २५, बुधवार , १०:५१:४४ बजे

Sajhamanch
'

बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति

बुधवार, असार २५, २०८२

काठमाडौं । उपल्लो मुस्ताङमा लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिजो बेलुकाको बाढीले चार वटा पुल बगाएको छ भने दुई वटामा क्षति गरेको छ ।

नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरको चुम्जुङ खोलामा झन्डै तीन घण्टा बाढी आएको थियो ।

बाढीले लोमान्थाङ–४ चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङको निर्माणाधीन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

त्यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बगाएर क्षति पुर्‍याएको छ । उपल्लो मुस्ताङको बाढीका कारण खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ–४ अन्दाजी ४०० मिटर दूरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

आज त्यस क्षेत्रमा बाढीको बहाव कम भइसकेको तर सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।