
काठमाडौं । रसुवामा रहेको नेपाल–चीन सीमामा बग्ने लेन्डेखोलामा आएको बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन् ।
हराउनेमध्ये नेपाल प्रहरीका तीन जना, तीन जना गाडी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक रहेका रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेका मालवाहक कन्टेनरहरू र अरू गाडीहरू पनि बगाएको छ । रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको सडक बन्द भएको छ ।
त्यस्तै रसुवा जलविद्युत् आयोजनाको बाँधमा आंशिक क्षति पुगेको छ । बाढीका कारण विद्युतीय गाडीको चार्जिङ स्टेशनमा क्षति भएको र सात–आठ वटा गाडी बगाएको, भन्सार कार्यालय रसुवा र रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।
बाढीको प्रभाव नुवाकोटमा समेत परेको छ । लेन्डेखोलामा पानीको सतह विस्तारै घट्न थालेको प्रहरीले जनाएको छ । बाढीमा फसेकाहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।
प्रभावित मानिसहरूलाई रसुवाको टिमुरेबाट निजी हवाई सेवा प्रदायक कम्पनीहरूले पनि उद्धार गरेका छन् । उद्धारका लागि पालिका सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू खटेका छन् ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तिब्बत क्षेत्रबाट एक्कासी ठूलो बाढी प्रवेश गरेको हो । त्यो बाढी वर्षाका कारण नभई हिमताल विस्फोटका कारण उत्पन्न भएको हुनसक्ने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार विश्व मौसम सङ्गठनको ‘फ्ल्याश फ्लड गाइडन्स सिस्टम’ को ‘ग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट–बेस्ड प्रिसिपिटेशन एस्टिमेट्स’ ले भोटेकोशी जलाधार क्षेत्रमा विगत २४ घण्टामा वर्षा भएको देखाउँदैन ।
महाशाखाले विज्ञप्त निकालेर बाढीको सम्भावित कारण पत्ता लगाउन ‘सेन्टिनल एशिया प्ल्याट्फर्म’ मा तत्कालको भू–उपग्रह तस्वीर प्राप्त गर्न ‘इमर्जेन्सी अब्जर्भेशन रिक्वेस्ट’ (ईओआर) जारी गरेको जनाएको छ ।