२०८२ असार २४, मङ्गलवार , ०२:२५:३६ बजे

Sajhamanch
'

विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो, चालू खाता ३ खर्ब ७ अर्बले बचतमा

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २५ खर्ब ६९ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको ११ महिनासम्म विदेशी मुद्रा सञ्चिति २५ दशमलव ९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १८ अर्ब ६५ करोड पुगेको छ ।

गएको असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै ११ महिनासम्म चालू खाता तीन खर्ब सात अर्ब ३१ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा कुल वस्तु निर्यात ७७ दशमलव ८ प्रतिशतले बढेर दुई खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै ११ महिनामा कुल वस्तु आयात १३ दशमलव १ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा ६ दशमलव ३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

यस्तै जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत रहेको थियो ।

नेपालमा मुद्रास्फीति झनै घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २।७२ प्रतिशत छ ।

सम्बन्धित खबर