
झापा । अमेरिकाको टेक्सासमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १०४ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार धेरै मानिस अझै हराइरहेका छन् । ज्यान गुमाउनेहरूमा क्याम्प मिस्टिक नामक ख्रीष्टियन बालिकाहरूको ग्रीष्मकालीन शिविरका २७ बालिका र कर्मचारी पनि छन् ।
अझै १० बालिका र एक जना शिविर परामर्शदाता हराइरहेका खबरमा उल्लेख छ । उनीहरुको खोजीका लागि उद्धारकर्मी खटिएका छन् ।
अमेरिकी मौसम सेवामा भएको बजेट कटौतीलाई यो घट्नासँग जोडेर अमेरिकी सरकारको आलोचना भइरहेको छ । तर ह्वाइट हाउसले आलोचनालाई अस्वीकार गर्दै यस घटनालाई प्राकृतिक प्रकोप भनेको छ ।