
झापा । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा श्रीलङ्कामा शुरू भएको छ । भूटान र बङ्गलादेशपछि श्रीलङ्का स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा शुरू गर्ने दक्षिण एशियाको तेस्रो देश बनेको छ ।
स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा श्रीलङ्कामा स्टारलिङ्कको सेवा शुरू भएको बताउनुभएको छ ।
यसैबीच स्टारलिङ्कले चाँडै भारतमा पनि सेवा शुरू गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतको दूरसञ्चार विभागले स्टारलिङ्कलाई सेवा शुरू गर्न अनुमति दिएको छ ।
केही समयअघि भारतका ठूला टेलिकम कम्पनीहरू भारतीय एअरटेल र रिलायन्स जियोले स्टारलिङ्कसँग सहकार्यसम्बन्धी समझदारी भएको जानकारी दिएका थिए । भारतमा स्टारलिङ्क सेवा शुरू भएमा ग्रामीण क्षेत्रका सर्वसाधारणले उच्चगुणस्तरको इन्टरनेट पहुँच पाउने विश्वास छ ।