
झापा । अमेरिकाको टेक्सासमा अचानक आएको बाढीका कारण अहिलेसम्म ७८ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार ४१ जना अझै बेपत्ता छन् । सबैभन्दा धेरै क्षति केर काउन्टी भन्ने ठाउँमा भएको छ । त्यहाँ २८ जना बालबालिकासहित ६८ जनाको ज्यान गएको छ ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको छ । अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । नदी किनारमा रहेको एउटा क्याम्प बाढीबाट अत्यधिक प्रभावित भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आपतकालीन अवस्थाको सामना गर्न सङ्घीय सरकारले स्थानीय प्रशासनसँग मिलेर काम गरिरहेको बताउनुभएको छ । मौसम विभागले आउँदो २४ देखि ४८ घण्टाभित्र त्यो क्षेत्रमा आँधीहुरी आउन सक्ने चेतावनी दिएको छ ।