
झापा । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्सार शुल्कमा अमेरिकासँग सजिलै सम्झौता नगर्ने बताउनुभएको छ ।
जापानी प्रधानमन्त्री इशिबाले जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई टोकियोले टार्न खोजिरहेको छ भन्दै वाशिङ्गटनसँग वार्तामा सजिलै सम्झौता नगर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था ‘एएफपी’ ले जनाएको छ ।
व्यापार सम्झौताका लागि बुधवारको समयसीमाअघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा प्रधानमन्त्रीको यस्तो टिप्पणी आएको हो ।
‘सन्डे टेलिभिजन’ कार्यक्रममा जापानी प्रधानमन्त्री इशिबाले अमेरिकी अर्थतन्त्रमा सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा जापानलाई अन्य देशभन्दा फरक व्यवहार गर्नुपर्ने कुरा दोहोर्याउनुभएको छ ।
यस्तै अर्को ‘सन्डे टेलिभिजन’ कार्यक्रममा इशिबाले ट्रम्पको पत्रलाई कसरी सामना गर्ने योजना छ भनेर सोध्दा जापानले सबै प्रकारका परिस्थितिहरूको सामना गर्न तयारी गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिलमा धेरैजसो व्यापारिक साझेदारहरूबाट आयातमा १० प्रतिशत भन्सार शुल्क लगाए पनि जापानलगायत देशहरूमा उच्च दरहरू घोषणा गरे पनि वार्ताका लागि ठाउँ दिन त्यसपछि रोक्नुभएको थियो । यो रोकावट यही जुलाई ९ मा समाप्त हुनेछ ।