२०८२ असार २२, आइतवार , ११:५७:१५ बजे

Sajhamanch
'

हमास समूह गाजामा द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा वार्ता गर्न तयार

आइतवार, असार २२, २०८२

झापा । हमासले गाजामा चलिरहेको द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा वार्ता गर्न आफू तयार रहेको जनाएको छ ।

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो । हमासको पछिल्लो धारणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका लागि पहल गर्न आग्रह गर्नुभएको छ । हमासले अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको युद्धविराम प्रस्तावको मस्यौदामा उल्लेखित सर्तहरूलाई सकारात्मक रूपमा लिँदै वार्ताको प्रक्रियामा सहभागी हुने तयारी रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै, हमाससँग आबद्ध इस्लामिक जिहाद समूहले पनि वार्तालाई समर्थन जनाउँदै इजरायलले बन्धक मुक्तिपछि पुनः आक्रमण नगर्ने स्पष्ट सुनिश्चितता आवश्यक भएको बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

हमासको घोषणाबारे पत्रकारले सोधेको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई सकारात्मक सङ्केतको रूपमा लिँदै, यो द्वन्द्व अब अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । गाजामा सन् २०२३ अक्टोबर ७ तारिखदेखि आक्रमण शुरु भएको थियो । हमासले त्यसबेला इजरायली क्षेत्रमा आक्रमण गरेको थियो ।

युद्धविरामका लागि यसअघि पनि दुईपटक अस्थायी सहमति भएको थियो, जसमा इजरायली बन्धकहरूको सट्टामा प्यालेस्टिनी कैदीलाई मुक्त गरिएको थियो । इजरायली प्रधानमन्त्री नेतान्याहूले गाजामा रहेका सबै इजरायली बन्धकलाई सुरक्षित घर फर्काउने प्रतिबद्धता जनाउनुभएको छ ।

सम्बन्धित खबर