
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विज्ञान तथा प्रविधिको विकाससँगै रोजगारीका नयाँ क्षेत्रमा प्रसस्त अवसर खुलेका बताउनु भएको छ ।
शनिबार नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पन्तले सो कुरा बताउनु भएको हो ।
एसईई परीक्षा उत्तीर्ण रामेछापका विद्यार्थीलाई बधाई तथा सम्मान एवम् पार्टीका जनसंगठनका केन्द्रीय महाधिवेशनमा रामेछापबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री पन्तले अहिले काठमाडौंमा एक लाख बढी युवाले घरमा नै बसिबसी अनलाइनमा काम गरेर मासिक ५० हजारदेखि ३ लाख रुपैँया कमाउने गरेका सुनाउनुभयो ।
नेपालले आइटीमा काम गरेर गतवर्ष ६०-७० अर्ब रुपैयाँ कमाएका उहाँले बताउनुभयो । यो त देखिने तथ्याङ्क हो, विभिन्न कम्पनीले ल्याएको पैसा मात्र हो, व्यक्तिले काम गरेको हिसाब जोड्ने हो भने त्यो एक खरब जति पुग्छ, यो धेरै सम्भावना भएको क्षेत्र हो’ मन्त्री पन्तको भनाई थियो ।
अहिले एआईको कारण धेरै क्षेत्रमा मान्छेले गर्ने काम घटेको बताउँदै उहाँले यसको विकल्प प्रविधिमा जानै पर्नेमा उहाँले जाड दिनुभयो । अहिले धेरै काम अनलाइन मार्फत हुने भएकोले त्यसमा जानुपर्ने उहाँको धारणा छ ।
प्रविधिले ज्ञान दिए पनि संस्कार संस्कृति नदिने उहाँले बताउनु भयो । डिजिटल मिडियाले कतिपय घर, परिवार नै भाँड्ने जोखिम भएको भन्दै यसको उचित व्यवस्थापन गर्न सक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
फेसबुक हेर्ने र त्यसैबाट कुनै विषयमा धारणा बनाउने कुरा गलत भएको उहाँले बताउनु भयो । तर यसबाट भाग्न पनि नसकिने बताउँदै उहाँले त्यसलाई आफ्नो अनुकूल उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
‘डिजिटल दुनियाँबाट भागेर होइन, डिजिटल मिडियाबाट भागेर काम गर्न सकिँदैन, त्यसैबाट काम खोज्नु पर्दछ’ उहाँको सुझाव थियो ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।