
काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ-अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ ।
बर्तौलाका अनुसार समिति ७ सदस्यीय हुनेछ । जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २-२ जना सदस्य रहनेछन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट १-१ जना सदस्य रहनेछन् ।
संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको बर्तौलाले जानकारी दिनुभयो ।
समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गर्ने जनाइएको छ ।