
झापा । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो उत्तराधिकारी हुने घोषणा गर्नुभएको छ । उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामाले भिडियो सन्देश जारी गर्दै धर्मगुरु छनोट गर्ने परम्परा आफ्नो निधनपछि पनि जारी रहने बताउनुभएको बीबीसीले जनाएको छ ।
तिब्बती धर्मगुरुले उत्तराधिकारी छनोट गर्ने परम्परा जारी रहने कुरा यति स्पष्ट रूपमा भन्नुभएको यो पहिलो पटक हो । उहाँले आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्रक्रिया केवल फोड्राङ् ट्रस्टसँग रहने बताउनुभएको खबरमा उल्लेख छ । यो ट्रस्टको स्थापना उहाँ आफैँले गर्नुभएको हो ।
चीनले तिब्बतमा प्रभाव राख्न आफ्नै उम्मेदवार छनोट गर्ने कोशिश गर्ला भन्ने चिन्ताका माझ दलाई लामाको यो घोषणा आएको हो । मार्चमा प्रकाशित आफ्नो पुस्तक ‘भ्वाइस फर द भ्वाइसलेस’ मा दलाई लामाले उत्तराधिकारी चीनबाहिर जन्मिने सम्भावना पनि रहेको बताउनुभएको छ । यो टिप्पणीले गर्दा चीन क्रुद्ध भएको छ ।
सन् १९५० को दशकमा तिब्बतलाई आफूमा गाभेको चीनले दलाई लामालाई पृथकतावादी मान्दछ । चीनले आफ्नो उत्तराधिकारी छनोट गर्ने अधिकार आफूसँग भएको बताउँदै आएको छ । सन् १९५९ मा चिनियाँ शासनविरुद्ध तिब्बतमा भएको विद्रोह विफल भएपछि दलाई लामा भागेर भारत पुग्नुभएको थियो ।
अहिले तिब्बती धार्मिक नेता दलाई लामाको ९०औं जन्मदिन मनाउने तयारी भइरहेको छ । यसैबीच उहाँले उत्तराधिकारीबारे कुनै सङ्केत दिने अपेक्षाका माझ सयौं अनुयायीहरू आफ्ना आध्यात्मिक गुरुको जन्मदिन मनाउन उत्तर भारतमा भेला भइरहेका छन् ।
दलाई लामालाई तिब्बतका संरक्षक सन्त अवलोकितेश्वर वा चेनरेजिगको जीवित अवतार मानिन्छ । दलाई लामाको भूमिका प्राचीन छ र १५औं शताब्दीदेखि १४ जना दलाई लामा भइसकेका छन् । दलाई लामाको निधनपछि उनको पुनर्जन्म हुन्छ र धर्मगुरुले त्यो बच्चा खोज्छन् भन्ने विश्वास गरिन्छ ।