
सोलुखुम्बु । जन्मेको १२ वर्षमै घर–परिवार छोडेर बेपत्ता भएका सोलुखुम्बुको देउसाका रामुधन राईको ५६ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । वि. सं. २०१४ सालमा देउसामा जन्मेका उनी १२ वर्षकै उमेरमा बेपत्ता भएका थिए ।
जन्मजात सुस्त मनस्थितिका परिवारका जेठो छोरा रामुधन बेपत्ता भएपछि परिवारले उनको खोजीका लागि निकै संघर्ष गरेको थियो । कतै नभेटिएपछि रामुधनलाई परिवारले नै माया मारिसकेको सन्दर्भलाई कान्तिपुरले आकर्षक फिचर तयार पारेको छ ।
तर हराएको ५६ वर्षपछि रामुधन टुप्लुक्क गाउँमै देखा परे । नयाँ मान्छे गाउँमा आएको देखेपछि सोधपुछ भयो अनि गाउँकै सुबराम राईले ठम्याए, यी त तिनै हराएका रामुधन हुन् । त्यसपछि उनका बाबु कालुमान राईलाई बोलाइयो । गुमेको खुसी भेट्टायो परिवारले ।
८२ वर्षीय कालुमानले जीवनमा छोरासँग भेट हुन्छ भन्ने कल्पना गरेका थिएनन् । रामुधन अहिले ६८ वर्ष पुगे । कुनै सरकारी कागजात नभएका उनलाई नागरिकता दिलाउन गाउँकै अगुवा सुबराम राई लागिपरे । उनले वडामा लगेर आवश्यक कागजात तयार गरेपछि मंगलबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनोजकुमार घिमिरेले नागरिकता बनाएर हस्तान्तरण गरे ।
बुढेसकालमा छोराले नागरिकता पाएपछि वृद्ध बुवा निकै हर्षित छन् । ‘छोरो भेटिएला भन्ने आशा थिएन, भगवान्ले जुराइदिए,’ कालुमानले भने, ‘आज सीडीओ साबले नागरिकता पनि दिनुभयो, मेरो खुसीको सीमै छैन ।’
नेपाली भाषा नबुझ्ने र राई भाषा मात्रै बोल्ने रामुधन पनि प्रशासन कार्यालयमा नागरिकता लिँदा सबैसँग हाँसेर खुसी साटे । पहिलो पटक आफ्नो घरमा देखा परेका रामुधन अहिले पनि सुबराम राईकै घरमा बसिरहेका छन् ।
रामुधन कहाँ बसे र कसरी यत्तिका वर्ष बिताए भन्ने कुरा उनले अझै भनेका छैनन् । यो उमेरका व्यक्तिलाई नागरिकता दिँदा फरक अनुभूति भएको प्रजिअ घिमिरेले बताए । ‘मैले कुनै कानुनी झन्झटबिनै सिधै नागरिकता जारी गरेर हस्तान्तरण गर्न पाउँदा खुसी छु,’ प्रजिअ घिमिरेले भने ।