
काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २९८ रनले हरायो ।
नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भूटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाएर ६० रन बनायो । भूटानका अन्तिम ब्याटर क्रिजमा आएनन् ।
भूटानका शेजाङ दावाले सबैभन्दा धेरै १४ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो । नेपालका रौनक श्रीवास्तवले शतक बनाए ।
श्रीवास्तव १३२ बलमा १६८ रन बनाएर आउट भए । यस्तै जोय थापाले नटआउट ६१, शिवांश बजगाइँले ५४ रन बनाए । भूटानका साङ्गे दोर्जीले ३ विकेट लिए ।
नेपाल समूह चरणका सबै खेल जितेर सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो ।
यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनलमा नेपालले मलेशियासँग र हङकङले सिङ्गापुरसँग खेल्नेछ । १६ वर्षमुनिको इस्ट जोन कपको सेमिफाइनल खेल पर्सि बिहीवार हुनेछ । यस्तै फाइनल खेल आउँदो शनिवार हुनेछ ।