२०८२ असार १७, मङ्गलवार , ०१:१२:१३ बजे

Sajhamanch
'

झापामा ब्राउनसुगरको तस्करी बढ्दो, ४९४ जना पक्राउ

मङ्गलवार, असार १७, २०८२

झापा । झापा जिल्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि असार १२ गतेसम्मको अवधिमा लागुऔषध ब्राउनसुगरसहित ४९४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामध्ये ४६७ जना नेपाली (४४५ पुरुष र २२ महिला) र २७ जना भारतीय नागरिक (२६ पुरुष र १ महिला) रहेका छन्।

ब्राउनसुगरको कारोबार र प्रयोग झापामा बढ्दो क्रममा छ। पछिल्ला तीन आर्थिक वर्षमा झापामा कूल ६ किलो १३७ ग्राम ८१९ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म मात्रै २ किलो ४०५ ग्राम १६५ मिलिग्राम बरामद गरिएको छ। यसै क्रममा, असार ११ गते भद्रपुर नगरपालिका–७ बाट हालसम्मकै ठूलो परिमाणमा — २३९० मिलिग्राम ब्राउनसुगर — बरामद गरिएको थियो।

विगत तीन वर्षको विवरण यसप्रकार छः

आव २०७९/०८०ः १ किलो ५५८ ग्राम ४५९ मिलिग्राम

आव २०८०/०८१ः २ किलो १७४ ग्राम १९५ मिलिग्राम

आव २०८१/०८२ (असार १२ सम्म): २ किलो ४०५ ग्राम १६५ मिलिग्राम

झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार सीमावर्ती भारतीय बजारबाट फर्किने सवारीसाधन र व्यक्तिहरूमाथि कडा निगरानी राखिएको छ। लागुऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रहरी युनिटहरू थप सक्रिय बनाइएका छन्।

उनका अनुसार नेपाली तथा केही भारतीय कारोबारीहरूले भारतीय बजारबाट ब्राउनसुगर ल्याई झापा हुँदै काठमाडौं तथा अन्य सहरहरूमा पठाउने गरेका छन् भने सानो परिमाणमा स्थानीय रूपमा पनि प्रयोग हुने गरेको छ।

प्रहरीले लागुऔषध कारोबारी तथा प्रयोगकर्तालाई हाउभाव, गतिविधि तथा गोप्य सूचनाको आधारमा पहिचान गरी पक्राउ गर्दै आएको छ। सीमावर्ती नाका, बाटो तथा खेतबारी हुँदै लागुऔषध भित्र्याइने क्रम अझै रोकिएको छैन।

मेचीनगर, भद्रपुर, कचनकवल, झापा गाउँपालिका, गौरीगञ्ज, गौरादह लगायतका स्थानहरूबाट लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर