
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासिल देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले विकास सहयोग, ऋण दिगोपना र अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको समेत बताउनुभयो ।
समावेशीता, आवश्यकता र समानुपातिकताका आधारमा विश्वमा लगानी हुनुपर्छ भन्ने मान्यतामा नेपाल स्पष्ट रहेको उहाँको भनाइ छ ।
स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटोसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजीलाई राम्रो रोजगारी सिर्जना गर्न र समावेशी वृद्धिलाई प्रवर्द्धन र परिचालन एवम् विकासका लागि स्रोतहरुको खोजी गर्न सबैले साझा दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।