२०८२ असार १४, शनिवार , ०८:३९:५५ बजे

Sajhamanch
'

डेङ्गी सङ्क्रमणको उच्च जोखिममा बिर्तामोड : खोज र नष्ट गर अभियान सुरु

शनिवार, असार १४, २०८२

झापा । बिर्तामोड डेंगी संक्रमणको उच्च जोखिमयुक्त भूगोल भएको थाहा पाएपछि नगरपालिकाले आजदेखि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको छ ।

नगरपालिकाको सहभालहमा शनिबार बिहान ‘डेङ्गीसहित विभिन्न किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरोकारवालासंग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी तत्कालै उक्त अभियानको सुरु गरिएको हो । बिर्ताबजार क्षेत्रमा रहेका मोटरसाइकल ग्यारेज, पसललगायत सम्भावित स्थानमा गएर लार्भा नष्ट गरिएको हो ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले अभियानको शुभारम्भ गर्दै रोग लाग्नुभन्दा लाग्न नदिने वातावरण सिर्जना गर्न सबैले सहकार्य र समन्वय गरी सचेत हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले नगर क्षेत्रमा रहेका सहकारी संस्थाहरु, बैंक, विद्यालय र क्याम्पस एवम् सामाजिक सङ्घ संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीजन्य रोग नियन्त्रण सहकार्य गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा नगरका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रलाई महामारीजन्य रोग नियन्त्रणका लागि ‘पोर्टेबल महामारी किट’ वितरण गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जलवायु परिवर्तनका कारण डेङ्गी सङ्क्रमण पुसमा देखिएकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले डेङ्गी नियन्त्रणका लागि विद्यालयस्तरबाट अभियान सञ्चालन गरेर विद्यार्थी र अभिभावकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अजय पौडेलले प्रस्तुतीकरण दिँदै मनसुन सुरु भएसँगै किटजन्य महामारीको सङ्क्रमण उच्च हुने भएकाले सम्भावित जोखिमबाट बच्न सबै सचेत हुनुपर्ने बताउनुभयो ।

“अन्य किटभन्दा लामखुट्टेको जोखिम बढी छ”, उहाँले भन्नुभयो, “छ प्रकारका रोग लामखुट्टेले सार्छ, यसको समयमा नियन्त्रण गर्न सकिएन भने छोटो समयमा महामारीका रूपमा फैलिन सक्छ ।”

बिर्तामोडमा पाँच वर्षयता मलेरिया नदेखिएको जनाउँदै जनस्वास्थ्य निरीक्षक पौडेलले कालाजार र जापानिज इन्सेफ्लाइटिसका बिरामी एक एक जना भेटिएका सो अवसरमा जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रमका फोकल पर्सन ओम खड्काका अनुसार चालू आर्थिक वर्षको बैशाखदेखि हालसम्ममा बिर्तामोडका ५४ जनामा, गौराहद नगरपालिकामा ६ जना र दमक नगरपालिकामा एक सङ्क्रमित फेला परेका हुन् ।

“बिर्तामोडमा डेङ्गी सङ्क्रमण उच्च देखिएको छ”, उहाँले भन्नुभयो, “यहाँ बाह्य जिल्लाबाट उपचारका लागि आउने बिरामीको परीक्षण गर्दा सङ्क्रमण दर उच्च देखिएको हो ।”

जिल्लामा चालु आर्थिक वर्षको असार १३ गतेसम्म एक हजार दुई सय ९१ जना डेङ्गी सङ्क्रमित फेला परेका खड्काले जानकारी दिनुभयो ।

बिर्तामोडमा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको र १० वटै वडामा लगातार ५ दिनसम्म यो अभियान सञ्चालन गरी जनचेतनासमेत जगाउने कार्यक्रम रहेको जनाइएको छ।

सम्बन्धित खबर