२०८२ असार १३, शुक्रवार , ०१:२८:५८ बजे

Sajhamanch
'

झापामा १५ वर्षकै अवधिमा २५ हात्ती र ७२ मानिसको मृत्यु भएको तथ्याङ्क

शुक्रवार, असार १३, २०८२

झापा । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ। यस क्रममा २०६७ सालदेखि हालसम्म सात गैरनेपालीको समेत मृत्यु भएको छ।

डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन्। २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा औसतमा बर्सेनी पाँच जनाको मृत्यु हुने गरेको देखिन्छ।

जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्ती लगायतका गतिविधि हुँदै आएका छन्। ‘फरेष्ट एक्सन नेपाल’का डा लीलानाथ शर्मा विद्युतीय तारवारले मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण नहुने प्रष्ट पार्नुहुन्छ ।

‘तारबारले मात्र हात्तीलाई रोक्न–छेक्न सकिँदैन’ उहाँ भन्नुहुन्छ, ‘वनमै सुधार जरुरी छ।’

हात्तीको जैविक मार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्नसके मावन–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उहाँले बताउनु भयो ।

खानाको खोजीमा जङ्गलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। वन अतिक्रमणसँगै वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको हो।

हात्तीले मकै मन पराउने भएकाले पनि मकैखेती हुने बेलामा भारतबाट हुलका हुल हात्ती आउने गरेको डिभिजन वन कार्यालय डा. भलले सुनाउनु भयो । अन्य समयमा भन्दा मकैको याममा हात्तीको आवागमन बढी हुने गरेको छ।

झापामा २०६२ सालयता २५ हात्ती मृत फेला परेका छन्। पछिल्लो समय जिल्लामा हात्तीको मृत्यु हुने क्रम बढेको छ। विगतमा बर्सेनी एक–दुई वटा हात्ती मृत भेटिने गरेका थिए। तर, केही वर्षयता हात्तीको मृत्यु हुने क्रम बढेको हो।

२०८० साउनदेखि २०८१ असारसम्ममा चारवटा हात्ती मृत फेला परेका थिए भने चालु आवमा समेत हालसम्म चार हात्ती मृत फेला परेका डिभिजन वन कार्यालयले जनाएको छ।

जिल्लाका हात्ती पीडितलाई सरकारले आ. व. २०६८/०६९ देखि चालु आवको हालसम्ममा नौ करोड ६८ लाख ४७ हजार रुपैयाँ राहत प्रदान गरेको छ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही १० लाख, घाइतेलाई अधिकतम दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षति भएकाको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयका डा. भलले बताउनु भएको छ ।

जिल्लामा ५२५ जना वन्यजन्तु पीडित अझै राहतको पर्खाइमा रहेको उहाँको भनाई छ ।