
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थाहा भएको छ । नतिजा प्रकाशनको पूर्व तयारी र निर्णय गर्न हरेक वर्ष बोर्ड बैठक बस्ने गरेकोले आज पनि बैठक बोलाइएकाले नतिजा प्रकाशन गर्न लागिएको थाहा भएको हो ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताउँदै त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको जानकारी दिनुभएको छ ।
‘नतिजाको अन्तिम चरणमा छौँ, तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’
परीक्षा नियन्त्रण कार्यालयका सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइनसकेको जानकारी दिनुभएको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।