२०८२ असार १२, बिहिवार , ०८:४६:०७ बजे

Sajhamanch
'

मेचीनगरमा महिला सीप विकास केन्द्रको भवनको उद्घाटन

बिहिवार, असार १२, २०८२

मेचीनगर । मेचीनगरको ठूला गौरवका योजनाहरु मध्येको महिला सीप विकास केन्द्रको नयाँ भवन आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

मेचीनगर–८ स्थित महिला सीप विकास केन्द्रको भवन बिहीबार नप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन पछि मन्तब्य राख्दै नगरप्रमुख बुढाथोकीले सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गर्नुभयो । उहाँले महिलाहरुले उत्पादन गरेका सामग्री बजारीकरणका लागि नगरपालिकाले सहकार्य गर्ने आश्वासन पनि दिनुभयो ।

‘अहिलेसम्म तालिम दिनेले तालिम मात्र दिए’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो ‘सिक्नेले सिकेमात्र । व्यवसायिक कम मात्र बने । त्यसैले उद्यमी बन्न चाहाने महिलाहरुका लागि यो तालिम केन्द्र उपलब्धीमुलक हुनेछ ।’

नगरपालिकाको गौरवको योजना अन्तरगत २०७४ सालदेखि भवन निर्माणका लागि सुरु भएको तालिम केन्द्र यसपटक सम्पन्न भएको हो । पहिलो कार्याकाल पूरा गरेकी उपप्रमुख मीना पोखरेल उप्रेती र नगरप्रमुख विमल आचार्यको पालामा उक्त भवन बनाउन सुरु गरिएको थियो ।

दोस्रो कार्यकालमा पनि उपप्रमुख उप्रेतीले मेचीनगरका महिलाहरुको सीप, क्षमता, आत्मनिर्भरता बनाउने उदेश्यले उक्त भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

भावुक हुँदै उप्रेतीले भन्नुभयो ‘बुबा–आमा खस्दा जसरी रोएको थिए । आज यो भवन बनिँदा जति खुशी कहिलै भइन् । आज धेरै हाँस्ने दिन हो । विगतदेखिको एउटा सपना साकार भएको छ ।’

महिलाहरुलाई विभिन्न तालिमहरु दिएर उद्यमशील बनाउन यो तालिम केन्द्र कोशेढुंगा सावित हुने उहाँको भनाई छ ।

कार्यक्रममा मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमला लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मेचीनगरका विपन्न, सीमान्तकृत, लोपोन्मूख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलाहरुलाई सीप सिकाएर उद्यमशील बनाउने लक्ष्यका साथ तीन करोड ५० लाख रुपैयाँको लागतमा महिला सीप विकास केन्द्रको निर्माण गरिएको हो ।

स्थानीय सरकारको तर्फबाट सुरुवात गरिए तापनि कोशी प्रदेश र संघीय सरकारको सहयोग रहेको छ ।

सोही अवसरमा नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले ढाका बुनाई तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमको समेत उद्घाटन गर्नुभयो । उक्त भवनमा आजैदेखि तीन महिने ढाका बुनाई तालिम पनि सुरु भएको छ ।

नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले स्वागतसहित नगरका गौरवका योजनाहरुमध्ये उक्त तालिम केन्द्रको भवन सम्पन्न भएको, केहीको काम भइरहेको र केही स्थगित रहेको जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर