
झापा । इरान र इजरायलबीच युद्धविराम भएपछि दुवैतर्फको अवस्था सामान्य बन्दै गएको छ । अमेरिका समेतको संलग्नतामा १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछि अहिले अवस्था शान्त हुँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा शुरू भएको युद्धविराम इरान र इजरायल दुवै देशको समर्थनमा सफल रूपमा अघि बढिरहेको अमेरिकाको टिप्पणी छ ।
इजरायली सेनाले इरानको आणविक पूर्वाधारमा क्षति पुर्याएको दाबी गर्दै इरानमा विकसित आणविक कार्यक्रम केही वर्षसम्म ढिलो गरि अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ऐतिहासिक विजय भन्नुभएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले भने शान्तिपूर्ण रूपमा परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको अधिकार सुरक्षित रहने प्रतिक्रिया दिनुभएको छ ।
इरानमा युद्धको समयमा सीमित गरिएको इन्टरनेट सेवा फेरि सामान्य अवस्थामा फर्काउने प्रक्रिया शुरू भइसकेको छ ।
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ६१० जना नागरिकको ज्यान गएको छ भने इजरायली पक्षका अनुसार इरानी आक्रमणबाट २८ जनाको ज्यान गएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकाले गरेको आक्रमणमा क्षति भएको आणविक केन्द्रबारे अर्को हप्ता इरानसँग वार्ता गर्ने बताउनुभएको सीएनएनले जनाएको छ ।