
झापा । इजरायलले गरेको आक्रमणमा इरानका १४ जना परमाणु वैज्ञानिकको ज्यान गएको छ । १२ दिन लामो युद्धका क्रममा इजरायलले गरेको आक्रमणमा १४ जना इरानी वैज्ञानिकको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।
इजरायलले वैज्ञानिकमाथि लक्षित गरेरै आक्रमण गरेकाले उनीहरूको हत्या भएको इरानको दाबी छ । ज्यान गुमाउने वैज्ञानिकमा रसायनशास्त्री, भौतिकशास्त्री र इन्जिनियर रहेका फ्रान्समा रहेका इजरायली राजदूत जोशुआ जार्काले बताउनुभएको छ ।
उहाँका अनुसार अब इरानको बाँकी रहेको आणविक पूर्वाधार तथा सामग्री प्रयोग गरेर हतियार निर्माण गर्न लगभग असम्भव भएको छ ।
एउटा आणविक कार्यक्रमको पूरै समूह आक्रमणमा परेपछि यो कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको जार्काको भनाइ छ । यद्यपि विश्लेषकहरूले आणविक कार्यक्रमका लागि इरानसँग अझै अन्य वैज्ञानिक रहेका बताइरहेका छन् ।