२०८२ असार ११, बुधवार , १०:१९:३४ बजे

Sajhamanch
'

मलेशियामा महँगी दर घट्दै, उपभोक्तालाई राहत

बुधवार, असार ११, २०८२

झापा । मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति अर्थात महँगी दर घटेर १ दशमलव २ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा कम दर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

मलेशियाको तथ्याङ्क विभागका अनुसार, महँगी कम हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट हो ।

तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत स्थिरता आएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

उत्पादन लागत घटेको सङ्केत स्थानीय उत्पादन मूल्य सूचकाङ्क (पीपीआई) मा पनि देखिएको छ, जुन चालू वर्षको अप्रिल महिनामा ३ दशमलव ४ प्रतिशतले ऋणात्मक रहेको थियो ।

यसमा खानी तथा उत्खनन क्षेत्रको योगदान प्रमुख रहेको छ, जहाँ मूल्य १७ दशमलव ८ प्रतिशतले कमी आएको उल्लेख छ ।

त्यस्तै, उपभोक्ता मूल्य सूचकाङ्कमा महत्त्वपूर्ण स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहमा पनि मूल्य वृद्धिको गति सुस्तिएको देखिन्छ ।

यो समूहको मूल्य वृद्धि मे महिनामा २ दशमलव १ प्रतिशतमा सीमित भएको हो । यद्यपि, मासिक रूपमा हेर्दा भने अप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर ०.१ प्रतिशतले वृद्धि भएको छ ।

समग्रमा, मलेशियामा पछिल्लो समय मूल्य स्थिरता कायम रहन थालेकोले उपभोक्ता तथा आम नागरिकको लागि सकारात्मक सङ्केत मानिएको छ ।

मूल्यवृद्धिमा आएको कमीले नागरिकको दैनिक जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर