२०८२ असार ११, बुधवार , १०:१५:३३ बजे

Sajhamanch
'

झापामा तीनजनालाई कोरोना संक्रमण पुष्टि

बुधवार, असार ११, २०८२

झापा । झापामा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता पहिलो पटक गत जेठ ११ गते बिर्तामोड-५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो । त्यस्तै तीन दिनअघि मेचीनगर ९ का ४३ वर्षीय पुरुषलाई कोरोना देखिएको छ । ती तीन जनालाई आइसोलेसनमा राखिएको जनाइएको छ ।

नयाँ भेरिएन्ट फैलिएयता देशमै पहिलो पटक कोरोना सङ्क्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका वडा नं. १० फिक्कल बस्ने ४९ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । हिजो बिहान ६ बजे नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

ज्वरो आउने बिरामी भई स्थानीय अस्पतालमा उपचार गराउँदा ठिक नभएपछि दुई दिनअघि उनलाई बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा ल्याई सोमवार चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप उपचारको लागि उनलाई विराटनगर लगिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन ।

महाशाखाको तथ्याङ्क अनुसार २४ घण्टामा सात जनामा कोरोना पुष्टि भएको मध्ये एक जना सङ्क्रमितको मृत्यु भएको हो । नेपालमा पुषयता २५ जिल्लाबाट १८७ जनामा कोरोना पुष्टि भएका छन्।

कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १४७, कोशी प्रदेशमा सात, मधेस प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा २१ जना छन् ।

सम्बन्धित खबर