२०८२ असार १०, मङ्गलवार , ०५:१३:४९ बजे

Sajhamanch
'

इरानले युद्धविराम उल्लङ्घन गरेको इजरायलको आरोप, तेहरानमा शक्तिशाली आक्रमण गर्न रक्षामन्त्रीको आदेश

मङ्गलवार, असार १०, २०८२

झापा । इजरायली रक्षामन्त्रीले इरानले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । रक्षामन्त्री इजरायल काट्जले इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै त्यसका विरुद्ध शक्तिशाली आक्रमण गर्न सेनालाई आदेश दिएको बीबीसीले जनाएको छ ।

इजरायली रक्षामन्त्रीले विज्ञप्ति निकालेर इरानले गरेको युद्धविराम उल्लङ्घनविरुद्ध तेहरानमा सघन प्रहार गरेर कडा प्रतिवाद गर्न आदेश दिएको बताएका छन् ।

प्रधानमन्त्री बेन्जमिन नेतान्याहुका निकट सहयोगी अर्थमन्त्री बेजालेल स्मोत्रिखले तेहरान हल्लाइदिने चेतावनी दिएका छन् । इजराली सेनाले इरानबाट मिसाइल प्रहार भएको जानकारी दिएको थियो ।

दुई देशबीच युद्धविराम लागू भएको भनिएको केही घण्टा नबित्दै इजरायलले इरानमाथि उल्लङ्घनको आरोप लगाएको हो ।

यसैबीच इरानले युद्धविराम शुरू भएपछि इजरायलमा मिसाइल प्रहार गरेको कुरालाई अस्वीकार गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ को एक पोस्टमा इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका थिए। त्यसपछि इजरायली सरकारले ट्रम्पको युद्धविराम प्रस्तावमा सहमत भएको बताएको थियो ।

सम्बन्धित खबर