२०८२ असार ९, सोमवार , ०३:३२:३८ बजे

Sajhamanch
'

इजरायलबाट फर्कन ८८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा

सोमवार, असार ९, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छिन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिने कामग गरिरहेको बताइन् ।

इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

‘जुन १७ बाट अनलाइन पोर्टल खोलेर नेपाली नागरिकहरुको विवरण लिन सुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८८५ जनाले दर्ता गर्नुभएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘अबको एक/दुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौँ । त्यसपछि विश्वभरी रहेका जतिपनि नेपाली नागरिकहरू हुनुहुन्छ ।’

सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ ।

सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि उनले बताइन् ।

‘परराष्ट्र मन्त्रालयले हाल इजरायल–इरानबीच उत्पन्न द्धन्द्ध र यसका प्रभावहरुलाई अत्यन्त गम्भिरता साथ लिँदै ति क्षेत्रहरुमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको आएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘१३ जुनदेखि नै हामी प्रेस विज्ञप्ती जारी गर्यौं । त्यसपछि जुन १५ मा हामीले प्रेस एड्भाइजरी समेत जारी गरेर हाल इजरायल तथा इरानमा रहनुभएका नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौँ ।’

अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको पनि परराष्ट्रमन्त्री राणाले बताइन् ।

सम्बन्धित खबर