२०८२ असार ९, सोमवार , ११:२४:५६ बजे

Sajhamanch
'

काठमाडौं उपत्यकासहित २२ जिल्लामा बाढीको जोखिम

सोमवार, असार ९, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित २२ जिल्लामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज काठमाडौं, ललितपुर, भक्तपुर, इलाम, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको मध्यम जोखिम छ ।

यस्तै झापा, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपालचोक, नुवाकोट, धादिङ, दाङ, प्युठान, रुकुमपश्चिम, रुकुमपूर्व, जाजरकोट, कालीकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको सामान्य जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाले यी जिल्लाका नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ ।

आज, भोलि र पर्सि कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी तथा पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने तथा कोशी, नारायणी, कन्काई, र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो पानी परेको छ ।

सम्बन्धित खबर