२०८२ असार ८, आइतवार , ०८:१९:१८ बजे

Sajhamanch
'

क्यान महासंघ झापा ४० जनालाई निःशुल्क सीप अभिवृद्धि तालिम दिँदै

आइतवार, असार ८, २०८२

झापा । स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय साझेदारीमा आजदेखि झापामा १५ दिवसीय सीप अभिवृद्धि तालिम सुरु भएको छ ।

झापाको बिर्तामोडस्थित प्रथम आइटी सिस्टम प्रालि र प्रयास प्रारम्भले प्रशिक्षणको जिम्मेवारी पाएको सो ६० घण्टे तालिमको संयोजन कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) झापा शाखाले गरेको हो ।

तालिममा सहकारी संस्थामा कार्यरत कम्प्युटर प्राविधकहरु २० जना र सहकारी पसल, डिपार्टमेन्ट स्टोर र मार्टहरुमा कार्यरत २० जना कर्मचारीहरुको सहभागिता छ ।

क्यान महासंघ झापाका अध्यक्ष शुभ कुमाइँ पाठकको अध्यक्षतामा आयोजित तालिम उद्घाटन गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रोजगारी पाए पनि सीप नजानेर आर्थिक क्षति ब्यहोरिरहेका कामदारलाई लक्षित गरी तालिम आयोजना गरिएकोमा खुसी ब्यक्त गरे ।

उनले भने, ‘सफ्टवेयर राखेर काम गरिरहेका कतिपय सहकारीका क्यासियरहरुले दिनभरको क्यास हिसाब नमिलेर बेलुका आफ्नो खल्तीबाट लगाउनु परेको सुनेको छु, यस्तो तालिम उहाँहरुलाई नै लक्षित गरी आयोजना गरेकोमा म अत्यन्तै खुसी छु ।’

उद्घाटन कार्यक्रममा वित्तीय सहयोगदाता हेल्भेटास नेपाल इन्स्योर परियोजनाका प्रदेश संयोजक रेखा उप्रेतीले परियोजनाले विशेष गरी व्यवसायिक तालिमहरु दिने र उत्पादित जनशक्तिहरुलाई नेपालमै रोजगारीका लागि अवसर खोजिदिने गरेको बताइन् ।

उनले भनिन्, ‘प्राविधिक शिक्षालयहरुबाट उत्पादित जनशक्तिले रोजगारीको अवसर नपाउनुको मुख्य समस्या भनेको सरोकारवाला रोजगारदातासँगको समन्वयकै अभाव हो भन्ने लागेर हामीले प्रशिक्षार्थीहरुलाई सेवा प्रदायक व्यवसायीहरुमाझ ओजेटीमा पठाउने गरेका छौं । जसका कारण ठूलो संख्यामा प्रशिक्षार्थीहरुले निरन्तर रोजगारी पाइरहेका छन् ।’

पछिल्लो समयमा विभिन्न मार्ट, डिपार्टमेन्टल स्टोरहरु तथा सहकारी संस्थामा काम गरिरहेका जनशक्तिहरुलाई सीप अभिवृद्धिको आवश्यकता छ भन्ने जानकारी आए पछि यो वर्ष झापामा यस प्रकारको कार्यक्रम आयोजना गरिएकाले सबै प्रशिक्षार्थी सहभागीहरुलाई पूरै अवधि तालिम लिन प्रदेश संयोजक उप्रेतीले आग्रह गरिन् ।

क्यान महासंघ झापा कार्यसमितिका सदस्य गोपाल काफ्लेले तालिम सञ्चालन गर्नुको आवश्यकता र औचित्य प्रष्ट पार्दै शाब्दिक स्वागत गरेको उद्घाटन कार्यक्रममा क्यान महासंघका पूर्व केन्द्रीय सचिव भुपेन्द्र मैनालीले समाजको आवश्यकता पहिचान गरेर नै यस प्रकारको तालिम प्रस्ताव गरिएको बताए ।

क्यान झापाका उपाध्यक्ष लोकप्रिय खनालले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा अध्यक्ष पाठकले क्यानले विगत वर्षहरुमा फरक प्रकृतिको तालिम सञ्चालन गरेर हेल्भेटाससँग सहयात्रा गरेकोमा यो वर्ष पनि हाम्रो आग्रह स्वीकार गरिदिएकोमा हेल्भेटासलाई धन्यवाद ब्यक्त गरिन् ।

सम्बन्धित खबर