२०८२ असार ६, शुक्रवार , ०८:४३:०३ बजे

Sajhamanch
'

राष्ट्रिय सभामा १९ सांसदको कार्यकाल फागुनबाट सकिँदै, १८ पदमा निर्वाचन हुने

शुक्रवार, असार ६, २०८२

काठमाडौं । सरकार राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ ।

आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनित गर्छन् ।

बाँकी रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने तयारीमा सरकार जुटेको हो । यो विषयमा निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर छलफल गरेका हुन् । जहाँ राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल भएको हो ।

आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।

आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।

बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ । जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।

एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।

सम्बन्धित खबर