२०८२ असार ५, बिहिवार , ०२:१५:१४ बजे

Sajhamanch
'

दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि

बिहिवार, असार ५, २०८२

काठमाडौं । दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ ।

चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भएको पत्ता लागेको खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले जानकारी दिए।

तर यो परिमाण दैलेखका ४ वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी ३ कुइँकानको प्रारम्भिक अनुमान अनुसार जलजले क्षेत्रमै कुल ४३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले झन्डै ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्नसक्ने सम्भावना देखिएको छ ।

चिनियाँ कम्पनीले प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको र अन्तिम प्रतिवेदन आउँदो डिसेम्बरमा दिने बताएको नापितले बताए। २०७८ साल वैशाख २८ गतेदेखि शुरू भएको पहिलो ड्रिलिङ कार्य ४ हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो ।

त्यहाँबाट सङ्कलन गरिएका नमूनाको परीक्षणमा मिथेन ग्यासको भण्डारणबारे थाहा भएको हो । यो नेपालमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न भएको अन्वेषण परियोजना हो ।

नापितका अनुसार ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा विस्तृत परीक्षण भइरहेको छ । चिनियाँ कम्पनीले अन्तिम प्रतिवेदन दिएपछि व्यावसायिक उत्पादन परीक्षण शुरू गर्ने योजना रहेको विभागले जनाएको छ ।

मिथेन ग्यास पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । दैलेखका विभिन्न ठाउँहरूमा आगोको ज्वाला बल्ने गरेको छ । स्थानीय बासिन्दाले दैवी शक्ति भन्दै पूजा गर्दै आएकामा वैज्ञानिक अध्ययनबाट मिथेन ग्यास भएको पुष्टि भएको हो ।

सम्बन्धित खबर