२०८२ असार ३, मङ्गलवार , ०३:२७:४४ बजे

Sajhamanch
'

नेपालमा वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिम

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । नेपालमा वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिमको कारक रहेको पाइएको छ । मानिसहरूको मृत्यु र अपाङ्गताका लागि वायु प्रदूषण पहिलो जोखिम कारक रहेको विश्व बैंकले भखैरै प्रकाशन गरेको प्रतिवेदनले देखाएको हो ।

नयाँ प्रतिवेदन अनुसार काठमाण्डौ उपत्यका र तराईमा अत्यधिक वायु प्रदूषण हुने गरेको छ । यस क्षेत्रमा पछिल्लो एक दशकमा कुनै उल्लेखनीय सुधार भएको छैन ।

वायु प्रदूषणले औसत नेपालीको आयु झन्डै साढे ३ वर्षले घटाएको र वर्षेनि झन्डै २६ हजार मानिसले अकालमा ज्यान गुमाउने गरेका प्रतिवेदनमा उल्लेख छ ।

वायु प्रदूषणले स्वास्थ्य क्षेत्रबाहेक श्रम उत्पादकता, पर्यटन र उड्डयन क्षेत्रमा पनि असर गरिरहेको छ । खराब हावाको गुणस्तरको आर्थिक लागत प्रत्येक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी रहेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको प्रतिवेदनले कुनै पनि स्वच्छ हावा लक्ष्य पूरा गर्न एकल क्षेत्रीय समाधानहरू पर्याप्त नहुने भन्दै बहुक्षेत्रीय दृष्टिकोणलाई ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

प्रतिवेदनले नेपालमा स्वच्छ हावाका लागि विद्युतीय गाडी प्रयोगका लागि प्रोत्साहन गरी इन्धनबाट चल्ने गाडीको पनि निरीक्षण र मर्मत प्रणालीलाई सुदृढ पार्दै लग्नुपर्ने आवश्यकता औँल्याएको छ । यस्तै सडकको धूलो कम गर्न दीर्घकालीन सोचका साथ सडक मर्मतको काम गर्न विश्व बैंकले सुझाएको छ ।

औद्योगिक उत्सर्जन कम गर्ने, वन आगलागी घटाउने, भान्सामा विद्युतीय चुल्हो तथा उपकरण प्रयोगमा प्रोत्साहन गर्ने, सीमा पार प्रदूषण कम गर्न छिमेकी देशहरूसँग साझेदारी गर्नेलगायतका सुझाव प्रतिवेदनले दिएको छ ।