२०८२ असार ३, मङ्गलवार , ०७:५५:३० बजे

Sajhamanch
'

उद्यमशीलता वृद्धि गर्दै मेचीनगर

मङ्गलवार, असार ३, २०८२

मेचीनगर । लघु उद्यम गरिरहेका र नयाँ गर्न चाहानेहरुलाई मेचीनगर नगरपालिकाले सीप र दक्षता दिएर उद्यमी बनाउन लागिपरेको बताइएको छ ।

नगरपालिकाको आर्थिक विकास शाखाले प्रत्येक वडामा व्यवसायी बन्न चाहानेहरुलाई सीप र दक्षता दिएर उद्यमी बनाइरहेको हो ।

आर्थिक विकास शाखा अन्तरगत उद्यम विकास सहजकर्ता अश्विनी भट्टराईले विगत ४ वर्षदेखि उद्यमशीलता तालिम लिइरहेका १४० जनामध्ये करिव ६० जना व्यवसायिक बनेको जानकारी दिए ।

उनका अनुसार तालिम लिने र व्यवसायिक बनेका अधिकांश महिला मात्र रहेका छन् । तालिम लिएका ६० जनामा १० जना मात्र पुरुष व्यवसायिक बनेको उनको भनाई छ ।

प्रशिक्षक कै रुपमा काम गरिरहेका भट्टराईले तालिममा सहभागी धेरै महिलाहरु उद्यमी बन्न इच्छुक देखिएको बताए ।

आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले नगरको १४ वटा वडामा उद्यम गरिरहेका र नयाँ गर्न चाहानेहरुलाई उक्त तालिम दिइसकेको जानकारी दिएका छन् ।

चालू आर्थिक वर्षमा बाँकी रहेको वडा नं. ७ का ३५ जना र गतवर्षको कार्यक्रममा छुटेका ३० जना व्यवसायी बन्न चाहानेलाई दुईदिने सीप र दक्षता सम्बन्धी तालिम अहिले भइरहेको कार्कीको भनाई छ ।

२ जना पुरुषसहित ६५ जना सहभागी तालिमको पहिलो दिन घरेलु तथा साना उद्योग कार्यालयका छैटौँ अधिकृत जानकी भट्टराई, आर्थिक विकास शाखा प्रमुख कार्की र उद्यम विकास सहजकर्ता भट्टराईले प्रशिक्षण दिएका छन् ।

मंगलबार तालिममा सहभागीलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखा प्रमुख गोविन्दप्रसाद सुवेदी र मेची उद्योग वणिज्य संघका कार्यकारी अधिकृत गोपाल वस्नेतले प्रशिक्षण दिने छन् ।

तालिमको उद्घाटनमा मन्तब्य राख्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सीप सिकेर दक्ष नभएसम्म व्यवसायिक बन्न नसक्ने बताए । दक्ष जनशक्ति बिना नागरिकबाट देश बन्न सक्दैन, त्यसैले सीप सिकेर व्यवसायिक बन्न उनको जोड थियो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले सीप सिकेर बजारको माग अनुसारको उत्पादन गरेर बजारीकरणमा ध्यान दिन जरुरी रहेको बताइन् ।

कार्यक्रमको अध्यक्षता गरेका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले टाउकोमा कपाल नभएकालाई अब राम्रो कपाल आउँछ भनेर काँईयो बेच्न सक्ने गरी सीप सिकेर व्यवसायमा लाग्न आग्रह गरेका थिए ।

‘पूर्वकोद्वार उद्यम र रोजगारीको अवसर’ भन्ने मुल नाराका साथ गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम र लघु उद्यमीहरुका लागि सीप तथा क्षमता अभिवृद्वि कार्यक्रम अन्तरगत लघु उद्यमीहरुका लागि वित्तिय साक्षरता र बजारीकरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

सम्बन्धित खबर