२०८२ असार १, आइतवार , ०४:२४:५१ बजे

Sajhamanch
'

कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

आइतवार, असार १, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरल र प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुने बताएका छन् ।

लोक सेवा आयोगको ७५ औँ वार्षिकोत्सव एवम् हीरक जयन्ती समारोहलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवा प्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सकेमात्र लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरूप काम गर्नुपर्नेमा जोड दिए ।

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तीव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने उनले बताए ।

राष्ट्रपति पौडेलले नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भएपछि त्यसअनुसार उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको बताए । उनले कर्मचारी छनौट, बढुवा र परामर्शका क्षेत्रमा समयसापेक्ष सुधार गरी प्रभावकारी ढङ्गले अघि बढ्न जरुरी रहेको बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको धारणा राखे । प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गरे ।

आयोगलाई थप साधनस्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले ध्यान उचित दिनुपर्ने भन्दै उनले सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि तत्पर रहने बताए ।

प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवा पुस्तामा समेत विश्वासको वातावरण सृजना गरी राष्ट्र सेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सम्बन्धित खबर