
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा चालु आर्थिक वर्षमा सडक, शिक्षा, स्वास्थ्य लगायत योजनामा वडाले सन्तोषजनक काम गरेको पाइएको छ ।
शिवसताक्षीको दक्षिणी क्षेत्रमा पर्ने वडाले नगरबाट विनियोजित वडा शिलिङ्ग बजेटलाई परिचालन गर्दै वडा विकासमा सन्तोजनक काम गरेको हो । वडामा सडक सञ्जाल विस्तार, ५ वटा सामुदायिक विद्यालयहरु सुधार, ज्येष्ठ नागरिक, अपाङ्ग, विपन्न नागरिक मैत्री कार्यहरु सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ ।
सडक :
वडा नं. ४ मा हालसम्म १० किलोमिटर कालोपत्रे सडक बनेको छ । चालु आवमा जनता–बोलोचोक २ किलोमिटर सडक कालोपत्रेको चरणमा छ । संघीय सरकरबाट विनियोजित २ करोड रुपैयाँको लागतमा उक्त सडकमा कालोपत्रे गर्ने तयारी अवस्थामा पुर्याइएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए ।
उक्त सडकमा कालोपत्रे गर्ने कार्य यही आषाढ मसान्त अगावै सम्पन्न हुने वडाध्यक्ष प्रसाईंको भनाई छ । त्यस्तै नगर रिङ्गरोड सडक अन्तर्गत सो वडामा पर्ने १ हजार ७५० मिटर सडक पनि कालोपत्रे गरिएको वडाध्यक्ष प्रसाईले बताए ।
चालु वर्षको वडा गौरवको योजना अनुसार बोलोचाक बजारदेखि झापा इनर्जी जाने ४४५ मिटर सडक कालोपत्रेको तयारी गरिएको वडा नं. ४ को कार्यालयले जनाएको छ । उक्त सडक वडाको २० लाख विनियोजित बजेटबाट कालोपत्रे गर्न थालिएको हो । संघीय सरकारबाट विनोजित १ करोड रुपैयाँको लागतमा ओडारी चोकदेखि दक्षिण कुञ्जिबारी जाने ७४५ मिटर सडक कालोपत्रे गरिएको छ ।
चालु वर्षमा वडा कार्यालयले बोलोचाक बजार दक्षिण बाहुन टोल हुँदै गौरीगञ्ज १, जनता चौरी जाने २ हजार ५०० मिटर सडक उच्चस्तरीय ग्राभेल, गान्धारी चोकबाट मन्जुश्री जाने बाटो, किचनडाँगी टेकनारायण राजवंशीको गाउँ जाने बाटो, त्रिभुवन मावि पश्चिम टंक पौडेलको घर जाने बाटो लगायत १० वटा बाटोको स्तरोन्नति गरेको वडाध्यक्ष प्रसाईले बताए । जसमा गान्धारी विरेन्द्र राजवंशीको घर पूर्व छेउको नरहमा, पनेरु गाउँको होलीमा फलामे पूल निर्माण गरेको छ ।
शिक्षा :
शिवसताक्षीको ४ नम्बर वडाभित्र ५ वटा सामुदायिक विद्यालयहरु छन् । जसमा त्रिभुवन माध्यमिक विद्यालय, मञ्जुश्री आधारभूत विद्यालय, पाथीभरा आधारभूत विद्यालय, जनता प्राथमिक र कनकाई प्राथमिक विद्यालय रहेका हुन् ।
नगरपालिकाले स्मार्ट विद्यालय कार्यक्रम अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर लगायत विद्यालयको भौतिक सुधारका कामहरु गर्दै आएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।
विद्यालयका कक्षा कोठाहरुलाई बालमैत्री निर्माण गर्ने, शौचालय निर्माण, विद्यालय भवन निर्माण गर्ने र रङरोगन गर्ने काम भइरहेको त्रिभुवन माध्यमिक विद्यालयले जनाएको छ ।
त्यस्तै दाताहरुको सहयोगबाट कनकाई र जनता प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
वडाका दुई जना विद्यार्थीलाई १८ महिने सिभिल इन्जिनियरिङ कोर्ष निःशुल्क अध्यापन गराइँदै आएको वडाध्यक्ष प्रसाईको भनाई छ ।
विद्यार्थीहरुलाई विद्यालयसम्म गएर अध्ययन गर्न सहजता प्रदान गर्ने उद्देश्यले वडाका ११ जना दलित तथा विपन्न विद्यार्थीहरुलाई साइकल प्रदान गरिएको छ । शिवगञ्जमा रहेको जनआदर्श माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई वडाको १ लाख सिलिङ बजेटबाट साइकल किनेर वितरण गरेको वडा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विपन्न नागरिक लक्षित कार्यक्रम :
वडाले विपन्न नागरिक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत विपन्न नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । चालु आर्थिक वर्षमा ५० जना विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिएको वडा सचिव गीतादेवी ताजपुरियाले जानकारी दिइन् । कम्तिमा ती नागरिकको सिंगो परिवार बिरामी हुँदा एक लाख रुपैयाँसम्मको उपचार खर्च लाग्ने छैन ।
वडा नं. ४ मा अधिकांश आदिवासी समुदाय र केही सुकुम्बासीहरु रहेकाले उनीहरुलाई शुद्ध पिउने पानीको पहुँच पुर्याउन बायोसेट फिल्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ । जसमा १७ घर परिवारलाई उक्त फिल्टर वितरण गरिएको हो ।
वडाका महिलाहरुलाई उद्यमी बनाउन २ महिने एडभान्स सिलाई कटिङ्ग तालिम सञ्चालन भइरहेको छ । वडाले ती मध्ये उत्कृष्ट १२ जना महिलाहरुलाई सिलाई मेसिन प्रदान गर्ने तयारी रहेको जनाएको छ ।
भौतिक संरचना निर्माण :
नगरपालिकाको वडा नं. ४ रंग्यायथान बजार र बोलोचोक बजारमा इन्टरलक पेवर्स लगाइएको छ । बजारलाई व्यवस्थित गर्न नगरस्तरीय योजना मार्फत उक्त क्षेत्रमा इन्टरलक ब्लक लगाइएको हो । नगरपालिकाले नगरकका मुख्य बजारहरुमा इन्टरलक क्लब लगाउने काम भने अन्तिम चरणमा पुर्याएको जनाइएको छ ।
त्यसैगरी पाँचगाछी पुरानो कृषि बजारलाई व्यवस्थित गर्दै ४ कोठाको व्यापारिक टहरा निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । वडाको एकमात्र मलामी घाट बालोचोक बजार पश्चिम कमल बनियानी खोलाको किनारमा मलामी टहरा निर्माण गरिएको छ । प्रदेशस्तरीय १० लाख रुपैयाँको लागतमा उक्त टहरा निर्माण गरिएको वडाध्यक्ष प्रसाईको भनाई छ ।
वडामा तीनै तहका सरकारले धार्मिक क्षेत्रहरुमा लगानी गर्दै आएका छन् । पाँचगाछीको डाँडागाउँमा प्रदेश स्तरीय २ लाख ५० हजार रुपैयाँको लागतबाट बौद्धगुम्बा निर्माण गरिएको छ ।
स्थानीय बासिन्दालाई शुद्ध पिउने पानी उपलब्ध गराउन पाँचगाछी खानेपानी आयोजनाले काम सुरु गरेको छ । प्रदेश सरकारबाट विनियोजित १५ लाख रुपैयाँ बजेटबाट हाल खानेपानीका लागि संरचना निर्माण भइरहेको वडा कार्यालयले जनाएको छ ।
अधुरै रहेका योजना :
शिवसताक्षी नगरपालिका वडा नं. ४ मा केही आवश्यक संरचनाहरु बन्न सकिरहेका छैनन् । प्राथमिकतामा राखेर काम सुरु गरिएको केही योजनाहरु बन्न नसक्दा नागरिक मारमा परेका हुन् ।
बोलोचोक बजारमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने भनिए पनि हालसम्म नभएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । स्थानीय त्रिलोचन प्रसाईले ४ वर्ष अघि ८० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । तर हालसम्म क्ुनै पनि काम हुन सकेको छैन ।
त्यस्तै जनता बोलोचोक जाने कुञ्जिबारी सडक कालोपत्रे गर्न नसक्दा त्यस रुढमा आवत जावतमा कठिनाई भएको छ । नगरका सबै वडाहरुलाई जोड्ने उद्देश्यले निर्माण थालिएको रिङ्गरोड अन्तर्गतको सडक वडा नं. ४ पनि केही बनाउन बाँकी रहेको वडाध्यक्ष प्रसाईको भनाई छ ।
वडाले विश्वडुब्बा स्थित कनकाई माईमा मलामी टहराको आवश्यता महसुस गरेपनि बजेट अभावका कारण बनाउन नसकिएको वडाध्यक्ष प्रसाईको भनाई छ । वडाका केही क्षेत्रहरुमा सुकुम्बासीहरुको बसोबास रहेको छ । त्यस्ता सुकुम्बासीहरुलाई व्यवस्थापन गर्न नसकिएको वडाध्यक्ष प्रसाईले स्वीकार गरेका छन् । तर आफ्नो बाँकी कार्यकालमा उल्लेखित महत्वपूर्ण योजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उनले विश्वास दिलाएका छन् ।