
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधेमा महिलाहरुका लागि कानुनी परामर्श तालिम सञ्चालन गरिएको छ ।
शिवसताक्षी मिडिया प्रालिको संयोजन तथा सहजीकरणमा जठ ३० देखि असार १ सम्म दूधेमा तालिम भइरहेको हो ।
वडा र पालिकास्तरमा नै मिलाउन सकिने प्रकृतिका घटनाहरु प्रहरी र अदालतसम्म लैजान आवश्यक छैन । यस्ता विषयहरु जनप्रतिनिधिहरुबाटै समाधान गर्न सकिन्छ भन्ने जनाउन पछाडि पारिएका महिला तथा हिंसामा परेका महिलाहरुलाई लक्षित गर्दै कानुनी जानकारी र परामर्श प्रदान गर्न तालिम सञ्चालन गरिएको हो ।
तालिमका उद्घाटन गर्दै नगर उपप्रमुख नरमाया कार्कीले तालिममा महिलाहरुलाई घरेलु हिंसा, सम्बन्ध विच्छेद, बोक्सीको आरोप, परिवार तथा सम्पत्ति सम्बन्धी कानुनी अड्चन र महिला अधिकारका विषयमा अभिमुखिकरण गरिने बताइन् छ ।
तालिममा ११ वटै वडाबाट समस्या भोगिरहेका वा समस्या समाधानमा भूमिका खेल्नसक्ने २/२ जना महिलाहरुको सहभागिता रहेको तालिम संयोजक शिवसताक्षी मिडिया प्रालिका प्रमुख सरोज भट्टराईले बताए ।
पहिलो दिनको तालिममा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले तीनको बसाइमा के कस्ता विषयहरुमा सहजीकरण गरिने छ भनी विषय उठान गरेका थिए । उनले आमसञ्चार माध्यमहरु पनि यस्ता विषयको समाचार बनाउने तथा जनचेतना जगाउने साधन भएकाले पिडितले सूचना दिन कन्जुस्याईं गर्न नहुने बताए ।
पहिलो दिनको दोस्रो सत्रमा नगरपालिकाका न्यायिक समितिका कर्मचारी नर्वदा दाहालले हालसम्म नगरपालिकामा महिला सम्बन्धी के कति कस्ता मुद्धाहरु दर्ता भए र कसरी किनारा लगाइँदै छ भन्ने विषयमा तथ्यङ्कसहित सहजीकरण गरेकी थिइन् ।
कार्यक्रमको उद्घाटन वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबोको अध्यक्षतामा गरिएको थियो भने सञ्चालन सञ्चार बाटिका अनलाइनका सम्पादक सरोज भट्टराईले गरेका थिए ।