२०८२ जेठ ३०, शुक्रवार , ११:२२:०४ बजे

Sajhamanch
'

चैत १५ को तीनकुने घटनामा संलग्न कसलाई के कारबाही, १५५ पानाको आदेश

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरू मध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले हिजो राति ढिलोगरी आदेश जारी गरेको हो ।

राति झण्डै सवा १२ बजेमात्रै अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भयो ।

आदेश लेखनमा सहभागी शाखा अधिकृत बालाजीप्रसाद पाण्डेका अनुसार आदेश १५५ पानाको छ ।

तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आदेशमा केही उल्लेख छैन ।

अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।

‘उपस्थित नै नभएको उहाँहरूको हकमा अभियोग दायर भएकै दिन फरार प्रतिवादीको हकमा पक्राउ पूर्जी जारी गर्ने भन्ने भएको छ’ पाण्डेले भने, ‘पहिलै आदेश भइसकेको छ । अहिले केही आदेश गर्नुपर्ने नै छैन ।’

उनका अनुसार, आदेश लेखनको काम दुई दिनदेखि नै भइरहेको थियो । धेरै प्रतिवादी र अभियोग एकैसाथ भएकाले आदेश लेखनमा ढिलो भएको शाखा अधिकृत पाण्डेले बताए ।

धेरैको चासो रहेको यो आदेश लेखनमा न्यायाधीश कार्कीसँगै अदालतका कर्मचारी पनि थिए ।

साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि रातिमात्रै आदेश सार्वजनिक भएको थियो ।

तीनकुने घटनापछि केही समय फरार भएर भारतबाट पक्राउ परेका प्रसाईंसहितको ओदश सार्वजनिक हुनुअघि अदालत परिसरमा भिड थियो ।

सम्बन्धित खबर