२०८२ जेठ ३०, शुक्रवार , ०७:३६:३९ बजे

Sajhamanch
'

अनेरास्ववियुको अध्यक्षमा डा. कडरिया निर्वाचित

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । नेकपा (एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

मतदान प्रक्रियाबाट भएको नेतृत्व चयन प्रक्रियामा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै डा. कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा पौडेलले ७२५ मत प्राप्त गरेका छन् ।

मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।

दुवै जना प्यानलसहित मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।

पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका थिए ।

त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।

पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।

यस्तै उपाध्यक्षमा उपाध्यक्ष अञ्जना सिवाकोटी र विकास श्रेष्ठ निर्वाचित भएका छन् भने उपमहासचिवमा कमल जोशी, सचिवमा आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल निर्वाचित भएका छन् ।

अनेरास्ववियूको केन्द्रीय कमिटी अन्तरगत रहेको नीति अनुसन्धान आयोगको अध्यक्षमा प्रकाश बिष्ट विजयी भएका छन् ।

सम्बन्धित खबर