
झापा । अमेरिकाले बेलायत र अस्ट्रेलियासँगको पनडुब्बी सम्झौताको समीक्षा गर्ने बताएको छ । अस्ट्रेलिया र बेलायतसँग भएको अर्बौं डलरको पनडुब्बी सम्झौतालाई ‘अमेरिका पहिले’ भन्ने अजेन्डा अनुकूल भएरनभएको हेर्ने भन्दै वाशिङ्टनले समीक्षा गर्ने बताएको बीबीसीले जनाएको छ ।
यो त्रिपक्षीय सम्झौतालाई चीनको बढ्दो शक्तिको प्रतिक्रियाका रूपमा हेरिएको छ । ‘अस्ट्रेलिया–यूके–यूएस’ वा छोटकरीमा ‘ओकस’ नाम दिइएको यो सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट पहिलो परमाणु रियाक्टरबाट सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने थियो । साथै यी तीन साझेदारले अत्याधुनिक प्रविधि आपसमा बाँडेर नयाँ नौसैनिक फ्लीट तयार गर्ने थिए ।
अस्ट्रेलिया र बेलायतले गएको वर्ष यो सम्झौताको समीक्षा गरेका थिए । दुवै देशले अमेरिकी अनुसन्धानलाई सामान्य मानेर स्वीकार गरेका छन् र नयाँ प्रशासनले सम्झौताको पुनर्मूल्याङ्कन गर्नु स्वाभाविक भएको बताएका छन् ।
अमेरिकाले अस्ट्रेलियालाई उसको रक्षा खर्च बढाएर जीडीपीको २ प्रतिशतबाट ३ दशमलव ५ प्रतिशत पुर्याउन दबाव दिइरहेको छ । अहिलेसम्म अस्ट्रेलियाले यसमा सहमति जनाइसकेको छैन ।
सन् २०२१ मा २३९ अर्ब अमेरिकी डलर बराबरको पनडुब्बी सम्झौतामा हस्ताक्षर हुँदा तीन वटै देशमा अहिलेका भन्दा फरक नेताहरू थिए ।