२०८२ जेठ २९, बिहिवार , ०४:३१:४५ बजे

Sajhamanch
'

विश्वमा १३ करोड ८० लाख बालबालिका अझै श्रममा

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । विश्वमा अझै पनि १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ । विश्व बालश्रमविरुद्धको दिवसका अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ मा विश्वभर झन्डै १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको जानकारी गराएका हुन् ।

बालश्रममा रहेकामध्ये पाँच करोड ४० लाख जनाभन्दा धेरै बालबालिका जोखिमयुक्त काममा संलग्न रहेका प्रतिवेदनमा उल्लेख छ । जोखिमयुक्त कामका कारण ती बालबालिकाको स्वास्थ्य, सुरक्षा वा मानसिक विकासमा गम्भीर असर पारिरहेको प्रतिवेदनमा भनिएको छ ।

सन् २०२० यता दुई करोड २० लाख बालबालिका बालश्रमबाट मुक्त भए पनि सन् २०२५ सम्म बालश्रमको पूर्ण उन्मूलन गर्ने विश्व लक्ष्य भने अधुरै रहेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदन अनुसार बालश्रमको ६१ प्रतिशत कृषि क्षेत्रमा रहेको छ । त्यसपछि सेवा क्षेत्रमा २७ प्रतिशत र उद्योग क्षेत्रमा १३ प्रतिशत बालबालिका कार्यरत देखिन्छन् ।

आईएलओ र युनिसेफले बाल श्रम उन्मूलनका लागि सामाजिक सुरक्षा प्रणालीमा लगानी गरी बालभत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

२०७८ सालमा गरेको अध्ययन अनुसार नेपालमा ११ लाख बालबालिका बालश्रममा रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागले अन्तराष्ट्रिय श्रम सङ्गठनसँगको सहकार्यमा गरेको अध्ययन अनुसार ११ लाख बालबालिका श्रममा रहेका पाइएकोमा दुई लाख जना बालबालिका जोखिमपूर्ण श्रममा रहेका छन् ।

सम्बन्धित खबर