
झापा । रुसले युक्रेनको उत्तरपूर्वी शहर खार्किभमा आज बिहान गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । घाइतेहरूमा बालबालिका पनि छन् ।
रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । दुई देशबीच युद्ध शुरु भएको तीन वर्ष बितिसकेको छ । रुसले युद्ध रोक्न युक्रेनसँग कठोर सर्तहरू अघि सारेको छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ ।
रुसको सिमानाबाट झन्डै ३० किलोमिटर टाढा रहेको खार्किभ शहर बारम्बार आक्रमणको केन्द्र बन्दै आएको छ । खार्किभका मेयर इगोर तेरेखोभले रातिमा दुई वटा क्षेत्रमा १७ पटक आक्रमण भएको छ र तीन जनाको ज्यान गएको पुष्टि गरे। घटनास्थलमा रहेका पत्रकारहरूले जलिरहेका सवारी साधन, क्षतिग्रस्त भवनहरू र बाटोभरि छरिएका टुक्रा देखेका छन् ।
अहिले रुसले युक्रेनबीच शान्ति वार्ताको प्रयास निष्क्रिय छ । दुई देशबीच भएका दुई चरणका वार्ता सफल हुन सकेनन् । रुसले बिना सर्त युद्ध रोक्ने प्रस्ताव अस्वीकार गर्दै युक्रेनले आफ्नो भूमि छाड्नुपर्ने र सैन्य सङ्गठनमा नजाने प्रतिबद्धता जनाउनुपर्ने सर्त अघि सारेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि थप कडा आर्थिक दबाब दिन आह्वान गरेका छन् । साथै, युक्रेनले रुसका केही क्षेत्रमा प्रतिआक्रमणस्वरूप मानवरहित हवाई साधन प्रयोग गरेको बताइएको छ । यसैबीच दुबै पक्षले सयौँ बन्दीहरू साटासाट गरेका छन् भने मृत सैनिकहरूको शव पनि फिर्ता गरिएको छ ।