
झापा । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा रात्रिकालीन कर्फ्यु घोषणा भएको छ । अवैध आप्रवासीहरूमाथि छापा मार्ने विरोधमा भएको प्रदर्शनका क्रममा लुटपाट र हिंसा भएपछि लस एन्जलसकी मेयर करेन बासले शहरका केही भागहरूमा कर्फ्यु घोषणा गरेको बीबीसीले जनाएको छ ।
स्थानीय समय अनुसार राति ८ बजेदेखि शुरू भएको कर्फ्यु बिहान ६ बजेसम्म जारी रहने छ । लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले शहरमा बढ्दो अशान्तिपछि जीवन बचाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यु आवश्यक उपाय भएको बताएको खबरमा उल्लेख छ ।
कर्फ्युको अवज्ञा गर्नेलाई पक्राउ गरिने उनले चेतावनी दिए। प्रहरीका अनुसार विरोध प्रदर्शनका क्रममा अहिलेसम्म झन्डै २०० जना पक्राउ परेका छन् ।
यसैबीच टेलिभिजन सम्बोधनका क्रममा क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसको अवस्था भड्काएको भन्दै आलोचना गरेका छन् । राष्ट्रपतिको शक्तिको दुरुपयोगले यो अवस्था निम्तिएको उनले बताए।
यसअघि ट्रम्पले विरोध प्रदर्शनलाई शान्ति र सार्वजनिक व्यवस्थामाथि आक्रमणका रूपमा व्याख्या गर्दै शहरमा थप सेना तैनाथ गर्ने कुरा बताएको थियो ।
विरोध प्रदर्शन अमेरिकाका अन्य शहरहरूमा फैलिएको छ । विरोध प्रदर्शनका क्रममा न्युयोर्कमा धेरै जना पक्राउ परेका खबरमा उल्लेख छ ।