
काठमाडौं । अहिले देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा गराउने प्रणाली सक्रिय रहेको छ । बितेको १२ घण्टामा डडेल्धुराको गाइबाँधे क्षेत्रमा ६७ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
यो अवधिमा गण्डकी प्रदेशको लमजुङ, कास्की, बागलुङ र लुम्बिनी प्रदेशका धेरै ठाउँ र सुदूरपश्चिमको तराई क्षेत्रमा वर्षा भएको छ ।
यी क्षेत्रमा विकसित भएको वर्षा गराउने प्रणाली अहिले पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोट जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ ।
आज ललितपुर लगायत २४ वटा जिल्लामा बाढीको सम्भावना रहेकोमा सात वटा जिल्लामा मध्यम जोखिम रहेको महाशाखाको सूचनामा उल्लेख छ ।
यस्तै महाशाखाले आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको जनाएको छ ।
यसैबीच कोशी प्रदेशमा आएर शिथिल बनिरहेको मनसुन आज राति वा भोलिदेखि सक्रिय भएर पश्चिमतर्फ सर्ने र आइतवारपछि मध्य क्षेत्रबाट पश्चिमतर्फ सर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए।