२०८२ जेठ २९, बिहिवार , ०१:५२:३२ बजे

Sajhamanch
'

चिनियाँ राजदूत चेन सोङ्ग बिर्तामोडका विद्यालयहरुमा

बुधवार, जेठ २८, २०८२

बिर्तामोड । चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । चिनियाँ राजदुतावासको ५० लाख रुपैयाँको सहयोगमा ४ कोठे २ तले भवन निर्माण भएको हो ।

शुक्रराज आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै राजदूत चेन सोङ्गले शिक्षा सबैभन्दा महत्वपुर्ण विषय रहेकोले यसमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । चीनको विकास शिक्षाकै कारण भएको बताउँदै उनले आगामी दिनमा समेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गरे ।

सोङ्गले नेपाल र चीनको सम्बन्ध पुरानो रहेको भन्दै २०७२ सालमा गएको भूकम्प पछि नेपालमा विभिन्न १० वटा विद्यालय निर्माणमा सहयोग गरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडको विकासको लागि पुर्वाधार, कृषि, शिक्षा लगायतका क्षेत्रमा चिनियाँ दुतावासले सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरिन् ।

यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नेपालमा हस्पिटल, हाईड्रोपावर, सडकमा चीनको महत्वपूर्ण सहयोग रहँदै आएको बताए । उनले विद्यालय भवन निर्माणको लागि रकम उपलव्ध गराएकोमा दुतावासको प्रशंसा पनि गरेका थिए ।

यसअघि चिनियाँ राजदूत सोङ्गले बिर्तामोड ९ स्थित गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ४०० जना विद्यार्थीलाई विभिन्न १९ प्रकारका स्टेशनरीसहितको व्याग तथा खेलकुदका सामग्री प्रदान गरे ।

उनले दुर्गा मावि र शुक्रराज आधारभूत विद्यालयका १०/१० जना विद्यार्थीलाइ जनही दश हजार रुपैयाँको दरले छात्रवृतिसमेत प्रदान गरेका छन् ।

चिनियाँ राजदूत सोङ्ग बिर्तामोड तथा अर्जुनधाराका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम जारी नै रहेको छ ।

सम्बन्धित खबर