२०८२ जेठ २७, मङ्गलवार , ०७:३७:२८ बजे

Sajhamanch
'

इजरायलले ग्रेटा थनबर्गलगायत गाजाका कार्यकर्ताहरूलाई देश निकाला गर्ने

मङ्गलवार, जेठ २७, २०८२

झापा । गाजा जाने सहायता डुङ्गामा सवार स्वीडिश अभियानकर्ता ग्रेटा थनबर्गसहितका अभियन्ताहरूको समूहलाई देश निकालाका लागि तेल अभिभ विमानस्थलमा लगिएको इजरायलले जनाएको छ । इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यसबारेमा जानकारी दिएको हो ।

गाजामा मानवीय सहायता ल्याउने प्रयास गरिरहेका १२ जना यात्रु बोकेको डुङ्गालाई हिजो बिहान इजरायली सेनाले नियन्त्रणमा लिएको थियो । इजरायलले अभियन्ताहरू आफ्नो देश फर्कन बेन गुरियन विमानस्थलमा आइपुगेको बताएको बीबीसीले जनाएको छ ।

निर्वासन कागजातमा हस्ताक्षर गर्न र इजरायल छोड्न अस्वीकार गर्नेहरूलाई न्यायिक निकायसमक्ष बुझाइने इजरायली विदेश मन्त्रालयले एक्समार्फत जानकारी गराएको छ ।

जहाज सञ्चालन गर्ने कार्यकर्ता समूह फ्रिडम फ्लोटिला गठबन्धन (एफसीसी) ले सबै अभियानकर्ताहरूलाई इजरायली अधिकारीहरूको हिरासतमा राखिएको बताएको छ ।

फ्रिडम फ्लोटिला गठबन्धन गाजाको इजरायली नाकाबन्दी अन्त्य गर्न काम गर्ने विश्वभरका व्यक्ति र संस्थाहरूको एकता आन्दोलन हो । जहाजमा ब्राजिल, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्पेन, स्वीडेन र टर्कीका नागरिकहरू थिए जसमा युरोपेली संसद्की फ्रान्सेली सदस्य रिमा हसन र अल जजीराका फ्रान्सेली पत्रकार ओमर फैयाद पनि थिए । गाजामा भोकमरीको अवस्थाबारे जागरूकता जगाउन र सहायता पुर्‍याउन जुन १ मा इटालीबाट डुङ्गा प्रस्थान गरेको थियो ।

इजरायलले गाजामा हमासका लडाकूहरूसम्म हतियार पुग्नबाट रोक्नका लागि नाकाबन्दी आवश्यक रहेको बताएको छ । आइतवार इजरायली रक्षामन्त्री इजरायल काट्जले नाकाबन्दी उल्लङ्घन गर्ने कुनै पनि प्रयासविरुद्ध इजरायलले कारबाही गर्ने चेतावनी दिएका थिए।

सम्बन्धित खबर