
झापा । चीनमा गाडीको बिक्री गएको मे महिनामा उल्लेखनीय रूपमा बढेको छ । सरकारले नयाँ गाडीलाई प्रोत्साहन गर्न ल्याएको योजना प्रभावकारी बनेपछि बिक्रीमा सुधार देखिएको हो । अघिल्लो महिनामा १९ लाख ३० हजारभन्दा धेरै गाडी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको मे महिनाको तुलनामा १३ प्रतिशतले बढी हो ।
सरकारले पुराना गाडी फेरेर नयाँ गाडी खरिद गर्न चाहने व्यक्तिलाई सहयोगस्वरूप विशेष छुट दिंदै आएको छ । यो कार्यक्रमलाई यस वर्ष अझ विस्तार गरिएको छ, जसले उपभोक्तालाई थप सहजता प्रदान गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो योजनामार्फत मात्र यो वर्षको पहिलो पाँच महिनामा ४१ लाखभन्दा बढी नयाँ गाडी बिक्री भइसकेको जानकारी प्राप्त भएको छ ।
त्यस्तै बिजुलीबाट चल्ने गाडीको उत्पादन र बिक्री दुवैमा उल्लेखनीय बढेको देखिएको छ । मे महिनामा झन्डै ११ लाख ७० हजार उत्पादन हुँदा, १० लाख २० हजारभन्दा बढी बिक्री भएका छन् । साथै, यो वर्षको पहिलो पाँच महिनामा मात्रै झन्डै ८८ लाख गाडी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा झन्डै ९ प्रतिशतले धेरै हो ।