२०८२ जेठ २७, मङ्गलवार , ०२:११:३५ बजे

Sajhamanch
'

१० महिनामा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब पुग्यो

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १३ अर्ब ५६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार १० महिना अर्थात् साउनदेखि वैशाखसम्म १३ अर्ब ५६ अर्ब ६१ करोडरुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १६ दशमलव ९ प्रतिशतले बढी हो ।

यस्तै १० महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या चार लाख पाँच हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८० हजार ३१४ छ ।

अघिल्लो वर्षको यही अवधिमा तीन लाख ७३ हजार तीन सय सात जनाले अन्तिम श्रम स्वीकृति र दुई लाख ३६ हजार ३९८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यस्तै विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब बराबर रहेको विदेशी मुद्रा सञ्चिति २३ दशमलव १ प्रतिशतले बढेर वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो ।

यस्तै १० महिनासम्म चालू खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ ।

चालू आर्थिक वर्षको १० महिनामा कुल वस्तु निर्यात ७२ दशमलव ७ प्रतिशतले बढेर दुई खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यस्तै १० महिनामा कुल वस्तु आयात १३ दशमलव १ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा ६ दशमलव ७ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको थियो ।

सम्बन्धित खबर