
काठमाडौं । सरदरभन्दा झन्डै दुई हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ ।
त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४० दशमलव २ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको छ । तराई/मधेसका अरू ठाउँमा पनि तापक्रम केही बढेको छ । काठमाडौंमा पनि गर्मी बढेको छ ।
काठमाडौंमा हिजोको अधिकतम तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस पुग्यो । पूर्वको कोशीमा मनसुन भित्रिएसँगै एक/दुई दिन सक्रिय पनि भयो । त्यसपछि थप विस्तार हुन सकेन ।
नेपाल आइपुगेको मनसुन शिथिल बन्दा केही दिनदेखि कोशी प्रदेशमा समेत पानी परेको छैन । पश्चिम र मध्य क्षेत्रमा मनसुन भित्रिन सकेको छैन । हिजो र अस्ति देशका धेरै ठाउँमा टन्टलापुर घाम लाग्यो ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन देशभर विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने देखिएको छ ।
आज कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली हुन सक्ने अनुमान छ । भोलिदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ ।
यसैबीच गर्मी बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या हुन सक्ने डाक्टरले बताएका छन् । सकेसम्म दिउँसोको चर्को घाममा घरबाट ननिस्कन र निस्कनै परेमा छाता ओढ्न, शितल छहारीमा बस्न, पानी तथा सर्वत पिउन डाक्टरको सल्लाह छ ।